
नयराज पन्तद्वारा राणाशासनमै वि.सं. १९९७ देखि शुरू गरिएको पाठशालाका विद्यार्थी र संशोधन-मण्डलका शोधार्थीहरूका पुस्तक नेपालको तथ्य इतिहासका लागि पठनीय सामग्री हुन् । यस पुस्तकमा महेशराज पन्तले राणा कालखण्डका केही पात्र र पुस्तकबारे मिहिन तथ्य-सूचना-विश्लेषण पस्केका छन् । यो पुस्तक नेपालको आधुनिक इतिहास बुझ्न चाहने सबैका लागि भरपर्दो स्रोत-सामग्री हो ।
इतिहासविद् महेशराज पन्त संशोधन मण्डल नामक नेपाली इतिहास अध्ययन गर्ने एक समूहका सदस्य र यसको इतिहास–प्रधान त्रैमासिक पत्रिका पूर्णिमाका एक सम्पादक हुन् । संशोधन मण्डल पाठशालाका विद्यार्थी महेशराजले पाठशालाकै अध्ययनका आधारमा जर्मनीको ह्यामबर्ग विश्वविद्यालयबाट विद्यावारिधी गरे । नेपाली, संस्कृत, अंग्रेजी र हिन्दीमा लेख्न–पढ्न सक्ने पन्त पढ्न चाहिँ यी भाषालगायत प्राकृत, नेवारी, जर्मन, फ्रेन्च, मराठी, बंगाली पनि सक्छन्। उनका दुई सयभन्दा बढी शोधलेख प्रकाशित छन्। जर्मनी र भारतबाट एकएक गरी नेपालबाट उनका छवटा पुस्तक प्रकाशित छन्।