९० सालको महाभूकम्प गाथाको पुनः प्रकाशन

12 Jun 2015

काठमाडौं, जेठ २९

बयासी वर्षअघिको भुइँचालोमा आधारित कालजयी पुस्तक ‘नेपालको महाभूकम्प (१९९० साल)’को पुनः प्रकाशन पब्लिकेशन नेपालयले गर्नेभएको छ । लेखक ब्रम्हशम्शेरको अनुमतिमा २०४१ सालमा उक्त पुस्तकको तेश्रो संस्करण प्रकाशित गर्ने ‘सहयोगी प्रेस’सँगको समझदारीमा यसको प्रकाशन गर्न लागिएको हो । भूकम्पलगत्तै १९९१ मा प्रकाशित यो पुस्तकको १९९२ मै दोश्रो संस्करण छापिएको थियो ।

पब्लिकेशन्स नेपालयले प्रकाशन गर्ने यो चौथो संस्करण हुनेछ ।

वंशावलीमा बाहेक मुलुकमै भूकम्पसम्वन्धि कुनै लिखित दस्तावेज नरहेको अवस्थामा ईतिहासकै यो पहिलो पुस्तकलाई विद्वानहरुले विषयको उठान, सूचनाको विविधता, वर्णनशैलीदेखि लिएर भविष्यको मार्गदर्शनसम्मका हिसाबले महत्वपूर्ण मान्दै आएका छन् । त्यसबाहेक राणाकालीन नेपाललाई चिनाउने यो दर्पण नै छ ।

‘यो नाशिएको देशको धुलोबाट हाम्रो देश र जाति झन् उच्च श्रेणीमा पुगोस् भन्ने आशा राख्तछु, बेफायदाबाट फायदाको जन्म होओस् भनी प्रार्थना गर्दछु,’ पुस्तकको भूमिकामा लेखकले भनेका छन्, ‘दुःख पाएका भाइ–बहिनीहरु उपर सबैको प्रेम र दया बढ्न जाओस् औ पछिकालाई समेत सो महाभूकम्प विषयमा केही ज्ञान र सूचना पनि हुनजाओस् भन्ने हेतुले यो एक सानु बयान लेखेको हुँ ।’

जीवनको अन्तिम कालमा पनि लेखक ब्रम्हशम्शेरले यो किताब बजारमा उपलब्ध भइरहोस् र फेरि त्यस्तो प्रकोप आइपरे यसैमा उल्लेखित मार्गदर्शनबाट धेरै नोक्सानी हुन नपाओस् भन्ने कामना राखेको उनलाई चिन्नेहरु बताउँछन् ।

‘तर, यो किताबले दिएको शिक्षा हामीले मननै गरेनौं,’ चौथो संस्करणका भूमिका लेखक एवं संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, ‘त्यस्तो युगमा पनि आजको लागि समेत उपयोगी हुनेगरि लेखिएको यो पुस्तकले सचेत गराउँदा गराउँदै फेरि यत्रो विनाश देख्नुप¥यो ।’ पुस्तकमा भौगर्भिक र भवन निर्माणका वैज्ञानिक आधारलाई लिएर अब आइन्दा कहाँ, कसरी र कस्तो किसिमका घरहरु बनाउने भन्ने जानकारीसमेत समेटिएको छ ।

‘०४० सालताका लठ्ठी टेक्दै छापाखानामा आउनुभएका लेखक स्वयंले यो पुस्तक प्रकाशनको जिम्मा हामीलाई दिएर जानुभएको थियो,’ तेश्रो संस्करणका प्रकाशक सहयोगी प्रेसका रमेशकुमार शर्मा भन्छन्, ‘महाविपत्ति सामना गर्न र त्यसैअनुसारको तयारीबारे भावी पुस्तालाई समेत शिक्षा हुने यो पुस्तकको प्रकाशनको निरन्तरता नै इतिहासको सम्मान र लेखकको भावनाको कदर हुने ठानेर पुनः प्रकाशनको जिम्मा पब्लिकेशन्स नेपालयलाई दिएका छौं ।’

भर्खरको महाभूकम्पपछि धेरैले फेरि यो पुस्तकबारे जिज्ञासा राखेको कारण पनि यो निर्णय लिएको शर्मा सुनाउछन् ।

पब्लिकेशनले पहिलोपटक ‘नेपालय क्लासिक’ अन्तर्गत प्रकाशित गर्नलागेको यस पुस्तकको आवरणमा बालकृष्ण समले उतिबेला तयार पारेको र लेखकले महत्वका साथ उल्लेख गरेको धरहराको चित्रलाई नै प्रयोग गरिएको छ । पुस्तकमै समेटिएको ग्रह नक्षत्रको अवस्था र कम्पनको मापनसमेत आवरणमा अटाएको छ ।

‘नेपाली समाजले फेरि ठूलो भूकम्प बेहोरेकै बेला यति महत्वपूर्ण गाथा बजारमा निख्रिन पुगेको रहेछ,’ पुस्तक प्रकाशनको उद्देश्यबारे पब्लिकेशन्स नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘इतिहासलाई मनन् गर्न र भविष्य निर्धारणका निम्ति सचेष्ट हुनेहरुको निम्ति यो पुस्तक महत्वपूर्ण हुने विश्वास लिएका छौं ।’

पुस्तक आगामी साता बजारमा उपलब्ध हुनेछ ।