सामाजिक विविधताको चर्चा गर्दै ‘वीरगन्ज’ विमोचित

11 Mar 2016

काठमाडौं, फागुन २८
सहरको बृत्तान्त उल्लेख गर्दै तयार भएको ‘वीरगन्जः मेरो सहरको कथा’ शुक्रवारदेखि पाठकहरुको हातमा पुगेको छ । प्रज्ञाभवनस्थित डबलीमा फरक समाजका सुन्दरता र जटिलताहरुको उल्लेख गर्दै पुस्तक सार्वजनिक भएको थियो । वीरगन्जमै जन्मे हुर्केका लेखक गिरीश गिरीले उनका आमा शशि गिरीलाई पुस्तक हस्तान्तरण गरेर यसको विमोचन गरिएको थियो ।

कार्यक्रममा लेखक एवं पत्रकार नारायण वाग्लेले लेखक गिरी र वीरगन्जकै राजनीतिज्ञ सुरेन्द्र चौधरीसँग वीरगन्ज र यसले समेटेका समसामयिक विषवस्तुहरुमा केन्द्रित रहेर वार्तालाप गरेका थिए ।‘मैले मेरो जन्मथलोलाई मुलुकको बाँकी भागसँग जोड्ने कोशिस गरेको छु,’ कार्यक्रममा गिरीले भने, ‘मधेसका मात्र होइन हिमाली जनजीवनसँग जोडिएका पनि यस्ता अनगिन्ती कथाहरु सुनिन बाँकी छन् ।’
कुराकानीमा चौधरीले वीरगन्ज, यसको भूमिका र अपेक्षाहरुबारे बोलेका थिए ।
डेढ दसक कान्तिपुर, त्यसपछि नागरिक र हाल डिजिटल पत्रिका सेतोपाटीमा संवाददाता रहेका लेखकले झण्डै अढाइ दसकअघि वीरगन्जबाटै पत्रकारिता यात्रा थालेका थिए । यो उनको पहिलो पुस्तक हो ।
समारोहमा मुलुकका राजनीति, सञ्चार, कला, साहित्य, स्वास्थ्य र सुरक्षा क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको उपस्थिती थियो ।
‘वीरगन्जः मेरो सहरको कथा’ मुलुककै मुख्य प्रवेशद्वार मानिने सहरको जीवनी हो । ७० प्रतिशतभन्दा बढी आयात निर्यात धानेको यो नाका मुलुककै ब्यस्त व्यापारिक थलो हो भने औद्योगिक करिडोरका कारण पनि उत्तिकै महत्व राख्दछ ।
यसरी आर्थिक कारोबारका हिसाबले मात्र होइन मुलुकमा हुने राजनीतिक उथल पुथलमा पनि यसले महत्वपूर्ण भूमिका निभाउँदै आएको छ । राणा शासनविरुद्धको २००७ सालको क्रान्ति यसै सहरबाट थालनी भएको थियो ।
चन्द्रशम्शेरको पालामा मुलुककै पहिलो रेल गुडेको यो सहर भएर यसको स्थापनादेखि पछिल्लोे समयसम्म थुप्रै ऐतिहासिक क्षणहरु गुज्रिएका छन् । यसले अनेक रोचक पात्रहरु पाएको छ । आफ्नो जीवनकालमा अनेक रोचक घटनाहरु समेटेको छ ।
पछिल्लो समय सिंगो मुलुकलाई प्रभावित पार्ने मधेस आन्दोलनका बेला यो सहर त्यसको केन्द्र बन्न पुग्यो । मुलुककै ‘लाइफ लाइन’ मानिने यो महत्वपूर्ण सिमाना झण्डै पाँच महिनासम्म ठप्पै पारियो । सम्पूर्ण देस अनि वीरगन्ज आफैँले पनि छटपटीमा बाँच्नु परेको थियो ।
यस्तो बेलामा त्यस सहरलाई लिएर अनेक टिकाटिप्पणी चलिरहेको बेला गिरीश आफ्नो जन्मथलो पुगे ।
‘आन्दोलनकै बेला पुगेको क्षण भने मैले १२ वर्षपछि पहिलोपटक लामो अन्तराल जन्मथलोमा बिताएको थिएँ,’ कार्यक्रममा उनले भने, ‘दुइ वर्षदेखि पटक पटक त्यहाँ पुगेर दस्तावेजीकरण गरिएका सामग्रीहरुको पोको फेरि एकपटक फुकाएँ र दुइ महिनाभन्दा लामो बसोबासकै क्रममा यो पुस्तक तयार भयो ।’
पुस्तकमा अनेक घटनाक्रम र पात्रहरुको रोचक वर्णन छ । एक हिसाबले फरक फरक खण्डमा फरक फरक विवरणहरु रहेको पुस्तक समग्रमा एउटा कोलाजजस्तो छ जसलाई मधेस आन्दोलनले सुत्रवद्ध पार्दै लगेको छ । यसरी पुस्तक सहरको रोचक तस्विर देखाउँदा देखाउँदै पनि आन्दोलनका कारणहरु बुझ्न सघाउँदै अघि बढ्छ । वीरगन्ज प्रवेश गर्नखोज्दा आन्दोलनका कारण राजमार्गमा रहेको अवरोधबाट सुरुभएको पुस्तक फेरि काठमाडौं फर्कन खोज्दा त्यो अवरोध छिचोल्दै सकिएको छ ।
गिरीशका अघिल्ला दुइ पुस्ताले वीरगन्जकै स्थानीय राजनीति गरेका थिए । हजुरबुवा विष्णु गिरी वडाअध्यक्ष थिए भने बुवा गोपाल गिरीलाई मेयर रहेकै बेला २०६० सालमा तत्कालीन विद्रोही माओवादीले गोली हानेर हत्या गरेका थिए । वीरगन्जलाई माया गरेकै कारण मृत्युवरण गरेका पिताप्रति पुस्तकमा उनले आभार प्रकट गरेका छन् ।

पुस्तकमा सडकमा भेटिने सामान्य पात्रहरुको रोचक भोगाइहरु पाइन्छ ।‘वीरगन्जका समाचारहरुमा प्रायः उल्लेख गरिने ठूला नामहरु मेरा पुस्तकमा छैनन्,’ कार्यक्रममा गिरीशले भने, ‘बरु कहिल्यै कुनै चर्चामा नआएका असाध्यै सामान्य मानिसहरुको भोगाइबाट सहरको चित्रण गरिएको छ ।’
एउटा बेग्लै रंग ढंगमा बाँचेको समाजलाई उसको चित्रणमार्फत् मुलुकका बाँकी समाजसँग नजिक्याउन खोज्नु नै पुस्तक लेख्न खोज्नुको मूल उद्देश्य रहेको उनले बताए ।
वीरगन्जमय समारोहमा काठमाडौंका सहभागीहरुलाई माटोको कपमा राखिएको चिया र मधेसको लोकप्रिय खाना लिट्टीले स्वागत गरिएको थियो ।
‘पब्लिकेशन नेपालयले गैर आख्यान पुस्तकहरुको समेत प्रकाशन गर्दै आएकामा पाठकसामु कुनै सहरको जीवनी उभ्याइन थालिएको यो पहिलो पटक हो,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘वीरगन्जका रोचक पात्र र भोगाइहरुले मुलुकभरिका पाठकलाई शब्दहरुका माध्यमबाट सहरको रमाइलो भ्रमण गराउने विश्वास लिएका छौं ।’
३ सय पृष्ठको पुस्तकको मूल्य चार सय पच्चीस रुपैयाँ राखिएको छ ।

Amrit Gurung gets his copy signed

थप जानकारीका निम्ति
अर्पण शर्मा
नेपालय
फोन– ०१ ४४१२४६९,४४३७८९३, ९८५१०२६२६६
[email protected]