'भरियाको भूगोल' पुस्तक यात्रा

02 May 2017

आफ्नो नयाँ काव्यकृति 'भरियाको भूगोल' लिएर यात्रामा निस्केका कवि तथा गीतकार दिनेश अधिकारी आज १९ गते दिउँसो पाल्पा पुग्ने भएका छन् । १७ गते हेटौंडाबाट शुरु भएको उनको पुस्तक यात्रा चितवनको टाँडी र कावासोतीमा सम्पन्न भइसकेको छ ।
हेटौंडामा उनको काव्यमाथि कवि निमेस निखिल, घनश्याम घिमिरे, बच्चुराम अधिकारी, नीरा शर्माले आफ्नो धारणा व्यक्त गरेका थिए । वक्ताहरूले कवि तथा गीतकार दिनेश अधिकारी समाजप्रति उत्तरदायी सर्जक भएको कुरा व्यक्त गरेका थिए । नेपालयका तर्फबाट कवि तथा संगीतकार आभासले 'भरियाको भूगोल' मा आधारित रहेर कवि दिनेश अधिकारीको गीति काव्य यात्राको चर्चा गरेका थिए । तथा कवि दिनेश अधिकारीले साहित्यप्रति आफ्नो दृष्टिकोण सहित केही कविता वाचन गरेर सुनाएका थिए ।

१८ गते बिहान ८ बजे रत्ननगर टाँडीमा सम्पन्न भएको कार्यक्रममा चितवनका सृजनशील व्यक्तित्वहरूको घना उपस्थिति रहेको थियो । गजलकार तथा शिक्षासेवी धनराज गीरीले संचालन गरेको कार्यक्रममा संगीतकार, कवि आभासले दिनेश अधिकारीको काव्यमा रहेको गीति सौर्न्दर्य बारे चर्चा गरेका थिए । शिक्षासेवी उदय अधिकारीले कविहरू सामाजिक र राजनीतिक सोचबाट अप्रभावित रहन नसक्ने धारणा व्यक्त गरे । कार्यक्रममा चितवनका प्रतिभाशाली कवि भूपिनले 'भरियाको भूगोल' काव्यमाथि विवेचनात्मक चर्चा गरेका थिए । कवि भूपिनले दिनेश अधिकारी बिम्ब निर्माणमा मौलिकता पहिल्याउने कवि भएको धारणा व्यक्त गरे । कार्यक्रममा चेतराज रेग्मी, सुरेन्द्र अस्तफल, एलबी क्षेत्री र केदारनाथ खनालले आफ्ना धारणा राखेका थिए । कार्यक्रम बाल्मिकी साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरेको सभापतित्वमा भएको थियो । १८ गते दिउँसो कावासोती पुगेको पुस्तक यात्रामा स्थानीय साहित्यप्रेमीहरूको उत्साहजनक उपस्थिति थियो । कार्यक्रममा कवि दिनेश अधिकारीले कविता कर्म सृजनाप्रतिको आफ्नो अनवरत प्रेम भएको धारणा
राख्दै झण्डै ४५ मिनेट कविता वाचन गरेका थिए ।