अन्तिम मल्ल राजाको नियती पुनर्लेखन गर्दै ‘रणहार’

31 May 2018

अन्तिम मल्ल राजाको भोगाइ मार्फत् काठमाडौं उपत्यकाको एउटा कालखण्डलाई चित्रण गरेर मुलुकको पुनर्लेखित इतिहास पब्लिकेशन्स नेपालयको आगामी पुस्तकले वर्णन गर्नेभएको छ ।
पुस्तकको नाम हो ‘रणहार’ र पुस्तकका मुख्यपात्र हुन् भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ल । रणजीत मल्लकै पालामा पृथ्वीनारायण शाहले उपत्यकाकै उतिबेलाको सबैभन्दा शक्तिशाली र बैभवशाली राज्य भक्तपुरमा कब्जा जमाएका थिए । भक्तपुर हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो ।

यो पुस्तक इतिहासका अध्येता योगेश राजले तयार पारेका हुन् ।

उति बेला उपत्यकाका तीनवटा राज्यमध्ये पनि सबैभन्दा महत्वपूर्ण भक्तपुरमा झण्डै आधा शताब्दी शासन गरेका रणजीत मल्लले सन् १७६९ मा पृथ्वीनारायण शाहका सैन्य र चलाखीपूर्ण कदमहरुबाट राज्य गुमाएका थिए । पुस्तक त्यही ऐतिहासिक परिघटनामा केन्द्रित रहेको छ ।

अठारौं शताब्दी सिंगो भारतीय उपमहाद्वीपकै लागि उथलपुथलको समय थियो । लगभग सम्पूर्ण जसो क्षेत्रमा इस्ट इण्डिया कम्पनीले धमाधम कब्जा जमाइरहेको थियो । त्यहि बेला यता हिमालयको मुनी रहेका ससाना पर्वते राजा रजौटाहरु पनि आ–आफ्ना प्रभुत्व जोगाउने र बढाउन लागिपरेका थिए । त्यो बेला नेपालखाल्डोका तीनवटै राज्य आकर्षणका केन्द्र रहेका थिए ।

यस पुस्तकले त्यही कालखण्डको भक्तपुरमा सत्तासिन कुलीन वर्ग र गोर्खालीसामु तिनले गरेको आत्मसमर्पणका परिदृश्य उभ्याउँदै तत्कालिन समयको लडाईंको कथा भनेको छ ।

लेखक योगेश राजको यस पुस्तकले नेपाली इतिहासको आजसम्म भनिँदै आएको भाष्यसमेतकै विनिर्माण गरेको छ ।

पुस्तकले तत्कालीन राज्यका शासक र नागरिक कसरी आफूलाई एउटै मूल हाँगोबाट छुट्टिएको ठान्थे र एकै बोली बोल्थे भन्ने चर्चा पनि गरेको छ ।आपसमा लड्ने, भब्य मन्दिर र प्रासाद बनाउन प्रतिस्पर्धा गर्ने अनि मर्दापर्दा सुखदुःखमा सामेल पनि हुने उनीहरु नै फेरि सत्ता, भूमि, ग्रह, नक्षत्र र पूँजी हडप्नका निम्ति अन्तस्कलहमा पनि अल्झिरहने विवरण पुस्तकमा वर्णित छ ।

जतिबेला रणजीत मल्ल ब्यूँझिए त्यतिन्जेल धेरै ढिला भइसकेको थियो । गुमेको राज्य त अब फर्कँदैन थियो । तर, जीवनको अर्थ पहिल्याउन भने अझै केही समय उनीसँग थियो । त्यस्तो बेलामा उनले के गरे ? पुस्तकले त्यसैको सेरोफेरोमा आफुलाई केन्द्रित गरेको छ ।

रणजीतले जय र पराजयलाई आफू भएरै गुज्रिनदिए । रणजीतको त्यो जीत थियो वा हार भन्ने निश्कर्षमा पुग्न पाठकहरुलाई मद्दत गर्नु नै पुस्तकको मुख्य उद्देश्य हो ।
पुस्तकमा प्रयोग भएको भाषा यसको अर्को आकर्षण रहेको छ । यसको भाषाले पाठकलाई तत्कालिन भक्तपुर विचरणको यथार्थ नजिकको काल्पनिक अनुभूति गराउँछ ।

‘रणहार’ बारे पब्लिकेशन्स नेपालयकी प्रमुखकार्यकारी सैजन मास्के भन्छिन्, ’इतिहाससँग सम्बन्धित एउटा सुन्दर उपन्यास प्रकाशन गर्न पाएकोमा हामी प्रसन्न छौँ,’ मास्के भन्छिन्, ’विशिष्ठ लेखन शिल्प र शैलीले यो एउटा महत्वपूर्ण आख्यान हो ।’

पुस्तकका सर्जक योगेश राजको चाहना अनुरुप ‘रणहार’ कुनै औपचारिक कार्यक्रम बिनै सार्वजनिक गरिएको कुरा पब्लिकेशन्स नेपालयले जानकारी गराएको छ । पुस्तक सार्वजनिक भएको जानकारी जेठ १८ देखि २६ गतेसम्म काठमाण्डौको भृकुटीमण्डमा आयोजना हुने ‘२२औं नेपाल अन्तर्रा्ष्ट्रिय पुस्तक प्रदर्शनी’ को सन्दर्भ पारेर यसै प्रेस वक्तव्यमार्पत भएको छ ।

यो पुस्तक आगामी शनिबारदेखि नै मुलुकभरका महत्वपूर्ण पुस्तक पसलहरुमा उपलब्ध हुनेछ ।