View in English

नेपालयबाट आउने भयो ‘कविशिरोमणि रचनावली’

16 Feb 2018

पब्लिकेशन्स नेपालयले नेपाली साहित्यका स्थापित रचनाकारहरूका कृतिहरू प्रकाशन गर्ने क्रमलाई निरन्तरता दिएको छ । प्रकाशन संस्थाले यस्ता कृतिहरूको प्रकाशनको शृंखलालाई ‘नेपालय क्लासिक्स’ नाम दिँदै आएको छ । यही शृंखला अन्तर्गत यसपाली कविशिरोमणि लेखनाथ पौड्यालका कृतिहरू परेका छन् । ‘कविशिरोमणि रचनावली’ भित्र लेखनाथ पौड्यालका सम्पूर्ण सृजनाहरू समावेस छन् ।

वि. सं. १९४१ पुसमा कास्कीको अर्घौ अर्चलेमा जन्मिएका कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली साहित्यका एक शीर्ष साधक हुन् । पौड्याल नेपाली पद्य साहित्यमा शास्त्रियता र दर्शनलाई कलापूर्ण, सरल र सरस तरिकाले प्रस्तुत गर्ने सिपका अगुवा कवि मानिन्छन् । सँस्कृत भाषाको पृष्ठभूमिमा हुर्किएर पनि नेपाली भाषाको काव्य सृजनालाई आधुनिक युगमा प्रवेश गराउने कामको आरम्भ लेखनाथबाटै भएको मानिन्छ । 

कविशिरोमणि लेखनाथलाई परिष्कारवादी धाराका प्रणेता पनि मानिन्छ । यी कविले आफ्ना प्रकाशित कृतिलाई समेत पुनःपरिमार्जित गर्ने गरेको पाइन्छ । कविशिरोमणिका ‘पिजराको सुगा’, ‘कालमहिमा’, ‘सत्य—सन्देश’, ‘गौंथलीको चिरिबिरि’, ‘जीवन—चङ्गा’ जस्ता अनेकौं रचनाहरू आम पाठकका बीच पनि लोकप्रिय रहेका सृजनाहरू हुन् । उनका कतिपय कविताका हरफहरू त लोकोक्ति बनेर समेत फैलिएका छन् । 

कालिदास र मैथलिशरण गुप्तालाई मन पराउने कविशिरोमणि लेखनाथ पौड्याल महाकवि लक्ष्मीप्रसाद देकोटा र माधवप्रसाद घीमिरेलाई पनि औधि मन पराउथे । महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दमा लेखनाथ पौड्याल ‘ऋषिकल्प प्राज्ञ’ थिए । लेखनाथलाई औपचारिक शिक्षा थोरै भएको भन्दै प्रज्ञाप्रतिष्ठानको सदस्यता दिन हिचकिचाउने राजा महेन्द्र सामु देवकोटाले ‘ऋषिकल्प प्राज्ञ’ नभएको संस्थामा आफू रहनु उचित नहुने धारणा राखेको सन्दर्भलाई उल्लेख्य मानिन्छ ।

लेखनाथको निधनको आधा शताब्दीपछिसम्म पनि उनका केही रचनाहरू अप्रकाशितै थिए । ती कृतिसमेत खोजबीन गरी प्राध्यापक सनतकुमार वस्तीले ‘कविशिरोमणि रचनावली’ लाई पूर्णता दिएका हुन् । नेपाल संस्कृत विश्वविद्यालयका साहित्य विषयका प्राध्यापक वस्तीले लेखनाथका जटिल पद—पदावलीलाई सन्दर्भ सहित सरल बनादिएको हुनाले यो सँग्रह पाठकका निम्ति थप आकर्षक बन्न सक्छ । 

‘हरेक नेपालीका घरमा श्रद्धासाथ राख्न मिल्ने गरी बाबाका कृतिहरूको संकलन प्रकाशित होस् भन्ने चाहना थियो; साहित्यकार जगदिश घिमिरेले कोट्याउनु भएको कुरामा परिवारका सदस्य, लेखनाथ प्रतिष्ठान, प्राध्यापक सनतकुमार वस्ती र सुभचिन्तक सबैबाट अनुपम सहयोग प्राप्त भयो र हाम्रो हातमा यति आकर्षक ‘कविशिरोमणि रचनावली’ आइपुग्यो; मेरो खुसीको सिमा छैन ।’ रचनावली हातमा परेपछि लेखनाथकी नातिनी डा. प्रतिभा पाण्डेको प्रतिक्रिया थियो ।

‘नेपाली साहित्यमा स्थापित सृजनशील साधकका अमूल्य कृतिहरू बजारमा अप्राप्य छन् । त्यस्ता साहित्यिक कृतिहरू स्तरीय रुपमा आजका पाठकका निम्ति पनि उपलब्ध हुनुपर्छ भन्ने ध्येयले हामीले ‘नेपालय क्लासिक्स’ शुरु गरेका हौं । यो क्रममा कविशिरोमणिका कृतिलाई प्रकाशनमा ल्याउन पाउनु हाम्रो अहोभाग्य हो ।’ पब्लिकेशन्स नेपालयका किरण कृष्ण श्रेष्ठले भने ।

कविशिरोमणिका सम्पूर्ण कृतिको संगालो ‘कविशीरोमणि रचनावली’ ले नेपाली साहित्यको विकासक्रमलाई समेत बुझ्न सघाउ पु‍¥याउने विश्वास गर्न सकिन्छ । उनका समग्र सिर्जनाहरूलाई एकगठ पारेर प्रकाशित ‘कविशिरोमणि रचनावली’ लाई विधागत् पाँच भागमा संगालिएको छ । कविशिरोमणि लेखनाथको देहावसान वि.सं. २०२२ फागुन ७ गते भएको थियो । ‘कविशीरोमणि रचनावली’ रचनाकारको पुण्यमितिको अवसर पारेर, यही फागुन ७ गते सार्वजनिक हुने भएको छ । आकर्षक र बाक्लो गातामा सजिएको यस सँग्रहको मूल्य रु.६९७५ रहेको छ ।