भूकम्पबारे लेखिएको अनुसन्धानात्मक पुस्तक प्रकाशित

12 Feb 2023

काठमाडौँ — भूकम्पको जोखिम र यसका विभिन्न पक्षलाई मध्यनजर गर्दै सम्बन्धित विषयविज्ञहरूद्वारा संयुक्त रुपमा तयार पारिएको अनुसन्धानात्मक कृति विमोचन गरिएको छ । तारानिधि भट्टराई, निमानन्द रिजाल र किशोर थापाको संयुक्त कृति ‘बहत्तर सालको भूकम्प’ शनिबार विमोचित भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र वास्तुविज्ञ मोहनमूर्ति पन्तद्वारा संयुक्त रुपमा पुस्तकको लोकार्पण गरिएको हो। 

पुस्तकको समीक्षा गर्दै प्रा. पन्तले लेखकत्रयले गहन अध्ययन, अनुसन्धान गरेको देखिएको भन्दै २०७२ सालको भूकम्पले भौतिक संरचना क्षति मात्र नभई मानिसको मनमस्तिष्कमा असर परेको बताए । ‘पुस्तकमा भूकम्पपछिका स्थितिको गहन चित्रण गरिएको छ,’ उनले भने, ‘१९९० सालको भूकम्प र २०७२ सालको भूकम्पको तुलनात्मक विश्लेषण गरिएकाले झनै उपयोगी देखिएको छ ।’ तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुस्तक धरातलीय यथार्थमा आधारित भई लेखिएको बताए । त्यतिबेलाको चुनौतीलाई अवसरमा परिणत गरी भूकम्पप्रतिरोधी भौतिक संरचना निर्माण गरिएको उनको भनाइ थियो ।

नेपालको भौगर्भिक बनावटको चर्चाबाट सुरुभएको पुस्तकमा भूकम्पका बारेमा विस्तृत परिचय, नेपालको भूकम्पीय इतिहास, ७२ सालको भुइँचालोको वैज्ञानिक विश्लेषण, उद्धार, राहत, क्षति र खोजीकार्य, राष्ट्रिय पुननिर्माण प्राधिकरणको गठन, क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माण, जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन, एकिकृत बस्तीको विकास, पुननिर्माणका सामाजिक तथा आर्थिक पक्ष, पुननिर्माणमा समुदायको भूमिका, दातृराष्ट्र र दातृ निकायको भूमिका, पुननिर्माण तथा पुनस्र्थापनाको अन्तर्राष्ट्रिय अनुभव, पुननिर्माणको अनुभव, सिकाइ र अगाडिको बाटो शिर्षकमा बेग्ला बेग्लै परिच्छेदहरुका साथ विस्तारमा ब्याख्या गरिएको छ।

शनिबारको समारोहमा लेखकहरुका तर्फबाट बोल्दै तारानिधि भट्टराइले ७२ सालको भूकम्पपछि विज्ञ प्रतिनिधि मण्डलमा रहँदाका अनुभवहरु सुनाएका थिए। ‘हामीमा अनभिज्ञताकै कारण भूकम्पबाट बढी क्षति झेल्नुपरिरहेको छ,’ उनले भने, ‘शिक्षा प्रणालीमै यसप्रति चेतना जगाउने सही सामग्री समावेश नगरिँदा अगाडिको बाटो पनि भयावह नै देखिन्छ।’ यस्तो अवस्थामा त्यो अनभिज्ञता निरन्तर नहोस् भन्ने आत्मानुभूतिले यो पुस्तक तयार पार्न घच्घच्याएको लेखक भट्टराइले स्पष्ट पारे।

‘धेरैपटक महाभूकम्प झेलिसकेको हामीकहाँ फेरि पनि दोहोरिने अवस्था विद्यमान छ,’ पुस्तकका बारे पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यस्तोमा आम रुपमै यसबारे समझदारी विकास होस् भनेर सम्वन्धित विषयका विज्ञहरुको यो संयुक्त दस्तावेजलाई प्राथमिकताका साथ हामीले प्रकाशन गरेका हौं।’

तस्बिरहरु बाहेक चार सय ६ पृष्ठको यस पुस्तकको मूल्य ८ सय ७५ रुपैयाँ राखिएको छ। मुलुकभर सबैजसो प्रमुख पुस्तक पसलहरुमा यसलाई उपलब्ध गराइएको छ ।


Powered by Froala Editor