जीवनशैलीप्रति सचेत पार्दै पुस्तक सार्वजनिक

24 Jan 2015

काठमाडौं, माघ १०

पुर्खाले उत्कृष्ट जीवनशैली अपनाएको भए पनि पछिल्लो समय नेपालीहरु स्वास्थ्य र जीवनप्रति लापरवाह भएकोमा चिन्ता व्यक्त गर्दै ‘जीवन जिउने काइदा’को विमोचन सम्पन्न भएको छ । पब्लिकेशन नेपालयले प्रकाशित गरेको यो पुस्तक शनिबार सार्वजनिक गर्ने क्रममा सम्वन्धित क्षेत्रका विज्ञहरुले बढ्दो रोग व्याधि र फेरिएका खानपानको विषयमा बहस गरे ।

Dr. Aruna Upreti, Jeevan Kumar Prasain, and Narayan Wagle (left to right)


कार्यक्रमका सहजकर्ता नारायण वाग्लेले अहिलेसम्म प्रकाशित पुस्तक पढ्नका निम्ति मात्र हुनेगरेकामा यो पुस्तकले भने पढ्नुका साथै पालना गर्नुपर्ने दबाब समेत पाठकलाई दिने उल्लेख गरेका थिए । वाग्लेले त्यसपछि पुस्तकका लेखक जीवन प्रसाईं र स्वास्थ्यकमी डा. अरुणा उप्रेतीसँग पुस्तक संवाद गरे ।
‘पूर्वीय सभ्यताअन्तर्गत हाम्रा पुर्खाले सम्पन्न जीवनशैली अपनाएको भए पनि त्यसलाई लिपिबद्ध गरिएको थिएन,’ प्रसाईंले भने, ‘अहिले हराउँदै जानथालेको हाम्रो त्यहि सम्पन्नतालाई पश्चिममा विकास भएको विज्ञानसँग जोड्ने काम मैले यस पुस्तकमा गरेको छु ।’
औषधि विज्ञानमा विद्यावारिधि प्रसाईंले यसअघि आफू वा अरुहरुका समेत अनुसन्धानबाट प्राप्त जानकारीलाई स्वास्थ्य सम्बन्धी जर्नलहरुमा प्रकाशित गर्दै आएका थिए ।
‘अंग्रेजीमा क्लिष्ट भाषामा आएका तिनै जानकारीलाई मैले नेपाली पाठकका निम्ति सक्दो सजिलो हुनेगरी पुस्तक तयार पारिदिएको हुँ,’ हाल अमेरिकाको अलाबामा यूनिभर्सिटीमा अध्यापनरत प्रसाईंले भने, ‘परिवारको स्वास्थ्यप्रति चिन्तित गृहिणीदेखि लिएर यस क्षेत्रका अनुसन्धातासम्म सबैलाई काम लाग्ने विश्वास लिएको छु ।’
हाम्रा भान्छामै पाइने खानेकुरालगायतमा गरिएका २ सय ५९ वटा अनुसन्धानलाई आधार बनाएर उभिनु नै यो पुस्तकको सबैभन्दा सबल पक्ष रहेको कार्यक्रममा स्वास्थ्यकर्मी अरुणा उप्रेतीले उल्लेख गरिन् ।
‘यी कुराहरुको गुणबारे हामीले यसअघि पनि लेख्दै आएका हौं,’ सामुदायिक स्वास्थ्यका क्षेत्रमा समर्पित र स्वयं पनि यस्ता आलेखहरु तयार पार्दैआएकी उप्रेतीले व्यंग्य गर्दै भनिन्, ‘विदेशीले भनेपछि मात्र पत्याउने हाम्रो समाजमा उतैको अनुसन्धानबाट पनि पुष्टि भएको भनेर पुस्तकले देखाएपछि अब चाहिँ पक्कै सबैले पालना गर्ने होलान् ।’
व्यस्तताका कारण खाना पकाउन नभ्याएको बताउने गृहिणी र स्कुल जाने छोराछोरीको झोलामा प्याकेटका खानेकुरा हालिदिने पिताहरु प्रति उप्रेतीले कडा कटाक्ष समेत गरिन् ।
‘छोराछोरीलाई बजारका खानेकुरा खुवाएर तपाईंले माया होइन,’ उनले भनिन्, ‘तिम्रा अङ्गहरु छिट्टै खराब हुन् र चाँडै रोगी बन भनेर आशिर्वाद दिइरहनुभएको छ ।’
कार्यक्रममा लेखक प्रसाईंले उप्रेतीलाई पुस्तक हस्तान्तरण गरेर औपचारिक रुपमा सार्वजनिक गरेका थिए । उनीहरु दुवैले आगामी पुस्तक संयुक्त लेखन गर्ने घोषणा पनि गरे ।
कार्यक्रमको आयोजना डिल्लीबजारस्थित भोजनगृह र खेतीबजारले गरेको थियो ।
‘नेपालीहरुको वैभवशाली विगतलाई सम्झेरै मैले लामो समयदेखि यो स्थानमा प्राङ्गारिक अभियान चलाउँदै आएको छु,’ आयोजक भरत बस्नेतले भने, ‘त्यो अभियानसँग मिल्दो पुस्तक विमोचनको आयोजना गर्न पाउँदा खुशी लागेको छ ।’
कार्यक्रमको समापनपछि बस्नेतले उपस्थित सबैलाई फापरको रोटी, सिस्नोको झोल र अर्गानिक तरकारी चखाएका थिए भने लेखक प्रसाईंले यी खानेकुराले स्वास्थ्यलाई गर्ने फाइदा उल्लेख गरेका थिए ।
औपचारिक विमोचनसँगै यो पुस्तक मुलुकभर प्रमुख पसलहरुमा पुगिसकेको जानकारी पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले दिएकी छिन् । २ सय ४८ पृष्ठको पुस्तकलाई तीन सय पैतालीस रुपैयाँ मूल्य राखिएको छ ।

थप जानकारीका निम्ति
अर्पण शर्मा
नेपालय
फोन– ०१ ४४१२४६९,४४३७८९३, ९८५१०२६२६६
[email protected]