कटवालको आत्मकथा दुई सातामै २५ हजार

27 Aug 2014

काठमाडौं, भदौ ११


पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालको आत्मकथाले पुस्तक विक्रीमा उत्साहजनक परिणाम कायम गरेको छ । पुस्तक सार्वजनिक गरेको दिन अर्थात् साउन २९ गतेयता २५ हजार प्रति वितरण भइसकेको छ । दुई सातामै यति धेरै पुस्तक विक्री भएको पब्लिकेशन नेपालयको यो पहिलो अनुभव हो ।
‘सुरुमा १० हजार प्रति छपाइका निम्ति अर्डर गरेकोमा सार्वजनिक भएलगत्तैको वातावरण हेरेर भोलीपल्टै पुनः मुद्रणमा जानुप¥यो,’ पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्के भन्छिन्, ‘आत्मकथाका बारेमा केहि उल्लेख्य व्यक्तित्वको प्रतिक्रिया समेटेर दोश्रो संस्करण समेत बजारमा वितरण भइसकेको छ ।’

पत्रपत्रिकामा छापिएका विभिन्न प्रतिक्रियाबाहेक संविधानविद् नीलाम्बर आचार्यले ट्वीट गर्दै लेखेका थिए, ‘उथलपुथलकारी समय र एक निष्ठावान सेनापतिको सार्वजनिक खुलासा । एक असामान्य पुस्तक– रुकमाङ्गद कटवाल, आत्मकथा ।’
पुस्तकले नेपालको राजनीतिक संक्रमणकालका बहुचर्चित प्रधानसेनापतिको भोगाइमार्फत समकालीन इतिहासको महत्वपूर्ण घटनाक्रम र त्यसका पात्रहरुको भित्री कथा समेटेको छ ।
पुस्तक वितरणको जिम्मेवारी लिने एजुकेसन बुक हाउस पनि यो आत्मकथाको अत्यधिक माँग थेग्न गाह्रो परिरहेको बताउछ ।

‘पाठकहरुको ओइरो लाग्दा सुरुका केहि दिन त समस्यै परेको थियो,’ हाउसका रमण चटौत भन्छन्, ‘थोक स्टक न्यून राखेर भए पनि अधिकतम पसलमा वितरण व्यवस्था मिलाएका छौं ।’
कटवालको आत्मकथालाई इन्टरनेट मार्फत् पनि विक्री वितरणको व्यवस्था मिलाइएको छ । मुलुक भित्र र बाहिर यसरी विक्री वितरण गर्दैआएको मुन्चा हाउसका अनुसार कुनै पनि पुस्तकमा पाठकहरुले देखाएको यस्तो रुचि यो अभूतपूर्व हो ।
मुन्चा हाउसका प्रमुख अमृतमान तुलाधर भन्छन्, ‘इन्टरनेटबाटै व्यापार गर्ने हाम्रो व्यावसायको १५ वर्षे इतिहासमा यति धेरै पुस्तकको माँग भएको यो पहिलो पटक हो ।’
पुस्तकको माँग राजधानी मात्र नभइ मुलुकभर उत्तिकै देखिन्छ ।

भनेजति पुस्तक नपाएको छटपटी सुनाउने धनगढीस्थित चौलानी पुस्तक भण्डारका मालिक तिलक साउदको अनुभवले पनि यसको चित्रण गर्छ ।
‘मैले वरपरका नौवटा जिल्लालाई पुस्तकको थोक विक्री वितरण गर्दैआएको छु,’ साउद भन्छन्, ‘कटवालको आत्मकथा जति बिक्ला भनेर सोचिएको थियो त्योभन्दा असाध्यै धेरै माँग भएपछि हातमा परेका सबै पुस्तक आफ्नै पसलमा मात्रै बेच्नुपरेको छ ।’
आफ्नो कथालाई यसरी पढ्ने रुचि देखाइदिएकामा पूर्वप्रधानसेनापति कटवालले सम्पूर्ण पाठकप्रति आभार प्रकट गरेका छन् ।
‘विगतमा कसले के ग¥यो र के परिणाम आयो सबैका सामु छर्लंङ्गै छ,’ उनी भन्छन्, ‘आफ्नो जीवनमा मैले जे देखेँ–जे भोगेँ त्यसलाई इमान्दारितापूर्वक सबैका सामुन्ने राखेको हुँ ।’