‘खाना खानुभयो?’ सार्वजनिक

03 Jul 2017

काठमाडौं, असार १८
स्वास्थ्यसम्वन्धि आम सरोकारका विषयहरु बारे बहस गदै पुस्तक ‘खाना खानुभयो ? ः हाम्रा भान्साबारे बजारको भ्रम’ को विमोचन सम्पन्न भएको छ । पुस्तकका लेखकद्वयमध्ये डा. अरुणा उप्रेतीले आफ्नी आमालाई पुस्तक हस्तान्तरण गर्दै सार्वजनिक घोषणा गरिएको थियो ।

कार्यक्रममा बोल्दै बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले यो पुस्तकले सामान्य साक्षरलाई समेत उसको स्वास्थ्यबारे सचेत गराउनेदेखि लिएर स्वास्थ्यसम्वन्धि नीति निर्माण गर्दै आएको सरकारलाई समेत चूनौती दिने बताए । हाम्रा करेसाबारीदेखि लिएर भान्सासम्म खाद्यान्नका रुपमा उपलब्ध औषधिहरुको जानकारी दिनुको बदला चक्की खुवाउँदै हिँड्ने सरकारी नीतिमा समेत यसले प्रश्न उठाएको रेग्मीको भनाइ थियो ।

‘खानेकुरा भनेर चिनिए पनि त्यसमा दुइप्रकारका अति छन्,’ डा. रेग्मीले भने, ‘एउटा बजारु विज्ञापनले उभ्याएका खानै नहुने अति र अर्को यस पुस्तकले चिनाउने अति लाभदायक खानेकुरा ।’
रेग्मीले यस पुस्तकमा चिल्लो खानेकुराले पार्ने प्रभावबारे राम्ररी उल्लेख नगर्नु यसको कमजोर पक्ष रहेता पनि यसले आम मानिसलाई स्वास्थ्यका क्षेत्रमा सचेत हुन महत्वपूर्ण योगदान दिने बताउँदै भने, ‘यो नपढी नहुने पुस्तक हो ।’

कार्यक्रममा बोल्दै लेखिका डा. अरुणा उप्रेतीले आफ्नी हजुरआमा र आमाको भान्सा नै आफुले पोषणसम्वन्धि ज्ञान प्राप्त गरेको विश्वविद्यालय रहेको बताइन् ।‘जनस्वास्थ्यका क्षेत्रमा मुलुकभर डुलेर काम गर्दा मप्रति विश्वास गरेर मानिसले जेजस्ता प्रश्नहरु राख्दै आए त्यसले नै मलाई खानपानका बारेमा पत्रपत्रिकामा लेख्न प्रोत्साहित गरिदियो,’ डा. उप्रेतीले भनिन्, ‘त्यसपछि उत्पन्न पाठकका थप जिज्ञासाहरुले मलाई यो पुस्तकसम्म पु¥याएको हो ।’कार्यक्रममा डा. उप्रेतीले जनस्वास्थ्य विशेषज्ञका रुपमा नेपालका सहरी क्षेत्रदेखि दुर्गम गाउँसम्म डुल्दा बजारका भ्रमपूर्ण विज्ञापनले बनाउँदै लगेको पोषणसम्वन्धि डरलाग्दो विश्वास सबैका लागि चूनौती भएको सुनाइन् ।


कार्यक्रममा पुस्तकका अर्का लेखक लक्ष्मण अधिकारीले आफुले वातावरण र स्वास्थ्यका बारेमा लेख्दालेख्दै उस्तै विचार राख्ने डा. उप्रेतीको संगतमा पु¥याएको उल्लेख गरे ।
‘हामीले २० वर्षदेखि लेखनमा सहकार्य गर्दै आयौं,’ अधिकारीले भने, ‘त्यसैको प्रतिफल यो पुस्तक हो ।’

औषधिको विकल्पमा पुग्नुभन्दा पहिले नै हाम्रा भान्छादेखि खानपिनसम्मका कुराहरु आम पाठकमा पु¥याउन पब्लिकेशन्स नेपालयले प्रस्तुत गर्दैआएको स्वास्थ्यसम्वन्धि श्रृंखलामा यो तेश्रो पुस्तक हो ।
यसअघि आम स्वास्थ्य सरोकारका विषयमा डा. जीवन प्रसाईका दुइ पुस्तक पब्लिकेशन नेपालयले प्रकाशित गरिसकेको छ ।

नेपालयको आरशालामा आयोजित विमोचन समारोहको अन्त्यमा कवि तथा लेखक आभासले डा. रेग्मी, डा. उप्रेती र अधिकारीसँग खानपीन र स्वास्थ्यका बारेमा प्रश्नोत्तर गरेका थिए ।

१५ वटा विभिन्न उपशिर्षकमा तयार पारिएको पुस्तक २०५ पृष्ठको छ । तीन सय ४५ रुपैयाँ मूल्य राखिएको यसलाई सबैजसो प्रमुख पुस्तक पसलहरुमा उपलब्ध गराइसकिएको जानकारी पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले दिइन् ।