कफीगफ स्वादमा वाग्लेको ‘कोरियाना’ आजदेखि बजारमा

13 Feb 2019


काठमाडौं, फाल्गुन १
पत्रकार नारायण वाग्लेको पुस्तक ‘कोरियाना कफीगफ’ आजदेखि बजारमा उपलब्ध भएको छ । दुइवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेश्रो गैर अखवारी कृति हो ।

पब्लिकेशन्स नेपालयको सुरुवात नै वाग्लेको पहिलो उपन्यास ‘पल्पसा क्याफे’बाट भएको थियो । त्यसले साहित्यिक कृतिहरुको नयाँ पाठक घेरा जन्माउनुका साथै थुप्रै मानकहरु तयार पारेको थियो । नेपाली साहित्यलाई नयाँ युग सुहाउँदो हुनेगरि त्यस पुस्तकको प्रवद्र्धनले पनि आधुनिक बाटो अख्तियार गरेको थियो जसले पछिल्लो समयमा आम प्रवृत्तिकै रुप लिनपुग्यो । यसपाला भने उनै वाग्लेको पछिल्लो कृतिलाई उही पब्लिकेशन्स नेपालयले कुनै पनि औपचारिक विमोचन समारोह नराखेर सार्वजनिक भएको घोषणा गर्दैछ ।

वाग्लेले समाचार कक्षभन्दा बाहिर गरेका साहित्यिक सिर्जनाका प्रतिफल अघिल्ला दुइ पुस्तक भएता पनि यो पुस्तक भने उनले समाचार कक्षभित्रै सुरु गरेको चर्चित स्तम्भ ‘कफीगफ’मा आधारित छ । यो पूर्व प्रकाशित कफीगफहरुको संग्रह नभइ केहि समयअघि कोरियामा आयोजित लेखन कार्यशालामा उनले तयार पारेको बेग्लै कृति हो । त्यसैले पाठकहरुले यसलाई वाग्लेको अघिल्ला दुइ उपन्यास भन्दा बेग्लै ‘सिर्जनशील गैरआख्यान’ पुस्तकका रुपमा पाउनेछन् । गैरआख्यान भएता पनि यसमा उपन्यासका पाठकहरुले आख्यानको आनन्द पनि पाउन सक्ने वाग्ले बताउँछन् ।

अढाइ दसकभन्दा लामो समय पत्रकारिताको ब्यस्त घेरामा बिताएका वाग्लेले समाचार कक्षसम्म आइपुग्ने नेपाली समाजका विभिन्न चित्र र चरित्रलाई सुक्ष्म विश्लेषण गरिसकेपछि त्यसैको ‘बाइ प्रोडक्ट’का रुपमा लेखकीय शिल्प अनि कल्पनाशिलता प्रस्तुत गर्दैआएका छन् ।

पुस्तकलाई पब्लिकेशन्स नेपालयले नियमित विक्री वितरण प्रणाली मार्फतै मुलुकभर फिँजाउने योजना तय गरेको छ । त्यसको निम्ति आजैदेखि देसभरका सबैजसो महत्वपूर्ण पुस्तक पसलहरुमा यो उपलब्ध भइसकेको छ । मोटो गातामा उपलब्ध पुस्तकको मूल्य भने ४ सय ९५ रुपैयाँ राखिएको छ ।

यो परम्परागत विक्री प्रणाली बाहेक यसपटक पब्लिकेशन्स नेपालयले इच्छुक पाठकहरुका निम्ति घरैमा पुस्तक लगिदिने चाँजोपाँजो पनि मिलाएको छ । त्यसको निम्ति कुनै पनि पाठकले कम्प्युटर वा मोबाइलको एक क्लिकबाटै यो सेवाको आनन्द लिन सक्नेछन् ।

इन्टरनेटमार्फत् thuprai.com र  sastobook.com जुनसुकैमा गएर यसको अर्डर गर्ने हो भने पाठकले दिएको ठेगानामै पुस्तक उपलब्ध हुनेछ । यस्तो सेवा मुलुकका सबैजसो प्रमुख सहरहरुमा उपलब्ध छ ।

त्यसबाहेक यसलाई संसारभरि अमेजन मार्फत् पनि उपलब्ध गराइसकिएको छ ।