View in English

नेपालयद्धारा दोस्रो पुस्तकको घोषणा

20 Jun 2006

काठमाडौं

६ असार २०६३


पहिलो सफल प्रकाशन ”पल्पसा क्याफे“ पश्चात, पव्लिकेसन नेपालयले आफ्नो दोस्रो पुस्तक प्रकाशन गर्ने योजना सार्वजनिक गरेको छ । 

अत्यधिक संख्यामा बिक्री हुन सफल भएको पत्रकार नारायण वाग्लेको आख्यान भन्दा यो पृथक हुनेछ ।  यस पटक नेपालयले एउटा तस्वीर प्रधान पुस्तक प्रकाशन गर्दैछ । यस तस्वीरहरूको पुस्तकका परिकल्पनाकार पत्रकार तथा सम्पादक कुन्द दिक्षित भन्छन्–“यो नेपालको एक दशक लामो द्वन्द्वको सचित्र वर्णन हुनेछ ।”


 पुस्तकमा समावेश हुने तस्वीरहरूका लागि नेपालयले सार्वजनिक सूचनाका माध्यमबाट फोटोग्राफरहरूलाई आह्वान गरिसकेको छ । समावेश हुनका लागि सबै फोटोग्राफरहरूले नेपालको द्वन्द्व झल्काउने १० तस्विरहरूको संकलन पठाउन सक्नेछन् ।

नेपालयका टोली नेता किरण कृष्ण श्रेष्ठ भन्छन्, “हाम्रो यो आह्वान द्वन्द्वको तस्विरहरू संकलन गरेका सबैका लागि हो, तपाईँ व्यवसायिक फोटोग्राफर वा व्यवसायिक फोटोपत्रकार नै हुनुपर्छ भन्ने छैन ।” “यस पुस्तकका निम्ति कुन्द दाइसंग काम गर्न पाएकोमा हामी हर्षित छौं, अभिलेखको हिसाबले यो एक महत्वपूर्ण पुस्तक हुने कुरामा मलाई विश्वास छ ।”

कुन्द दिक्षित अन्तर्राष्टिय ख्यातीप्राप्त नेपाली पत्रकार हुन् । हिमालमिडियामा सम्पादक तथा प्रकाशक रहेका, श्री दिक्षितले विभिन्न अन्तर्राष्ट्रिय पत्रपत्रिकाका लागि लेख्दै आएका छन् । “डेटलाइन् अर्थ्”, “जर्नलिजम एज इफ द प्लानेट म्याटर्ड” दिक्षितद्धारा लिखित पुस्तक हुन् । 

प्राप्त सबै तस्वीरहरूबाट छनौट गर्ने कार्य निश्चयपनि चुनौतिपूर्ण हुने विचार व्यक्त गर्दै दिक्षित भन्छन्,“यद्यपि निर्णयक टोलीमा रहेका अन्य दुई अन्तर्राष्ट्रिय सदस्यहरूको सहयोगमा प्रतिनिधिमूलक तथा उच्च स्तरको छनौट हुने कुरामा म विश्वस्त छु ।”

आगामी असोज महिनामा हुने उक्त पुस्तकको विमोचनका अवसरमा नेपालयले छनौटमा परेका तस्वीरहरूको प्रदर्शनी पनि गर्नेछ । “हालसम्म प्राप्त प्रतिक्रियाबाट हामी उत्साहित भएका छौं” भन्दै नेपालय टोली नेता किरण भन्छन्, “दुर्गम क्षेत्रका फोटोग्राफरहरूले पनि आफ्ना तस्वीरहरू पठाइरहेका छन् ।”


थप जानकारीका लागिः

अर्पण शर्मा

जनसम्पर्क निर्देशक

नेपालय